दफा ९क
इजाजतपत्र स्थगन गर्न सक्ने
(१) इजाजतपत्रवालाले अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको कारोबार गर्न छाडेमा पन्ध्र दिनभित्र त्यसको कारण सहित इजाजतपत्र स्थगन गर्नको लागि अन्त:शुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा अन्त:शुल्क अधिकृतले इजाजतपत्रवालाको इजाजतपत्र स्थगन गर्नुपर्ने वा नपर्ने निर्णय गरी इजाजतपत्र स्थगन गर्नुपर्ने देखिएमा त्यस्तो इजाजतपत्र स्थगन गरी निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र सोको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम इजाजतपत्र स्थगन भएको इजाजतपत्रवालाले इजाजतपत्र स्थगन भएपछिको अर्का महिनादेखि दफा १०क. बमोजिमको विवरण पेश गर्नुपर्ने छैन ।

(४) उपदफा (२) बमोजिम इजाजतपत्र स्थगन भएको अवधिभरको लागि इजाजतपत्रवालाले दफा ९ बमोजिम इजाजतपत्र नवीकरण गर्नुपर्ने छैन।

(५) इजाजतपत्रवालाले उपदफा (२) बमोजिम स्थगन भएको इजाजतपत्रवाट वस्तु वा सेवाको कारोवार सुरु गर्न चाहेमा अन्त:शुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ र त्यस्तो निवेदन प्राप्त भएपछि अन्त:शुल्क अधिकृतले कारोवार शुरु गर्न इजाजत दिनु पर्नेछ ।